आख्यान विमर्श सङ्गोष्ठी सम्पन्न

images

काठमाडौँ, १६ वैशाख २०८१ । साहित्य सदन नेपालले आख्यान विमर्श सङ्गोष्ठी सम्पन्न गरेको छ । साहित्यकार पारिजातको ३१औं स्मृति दिवसको सन्दर्भ पारेर सदनले शनिबार रामहिटी, बौद्धमा आख्यान विमर्श गरेको हो ।

कार्यक्रममा उपप्राध्यापक निमग्ना घिमिरेले ‘वर्तमान नेपाली उपन्यासका प्रवृत्ति’ शीर्षकको गोष्ठीपत्र प्रस्तुत गर्नुभयो । सो गोष्ठीपत्रमाथि प्रा.डा. रमेशप्रसाद भट्टराईले टिप्पणी गर्नुभयो ।

यसैगरी प्रा.डा. दयाराम श्रेष्ठले ‘वर्तमान नेपाली कथाले पहिल्याएका बाटाहरु’ शीर्षकको गोष्ठीपत्र प्रस्तुत गर्नुभयो ।

सो गोष्ठीपत्रमाथि वरिष्ठ चिन्तक निनु चापागाईंले टिप्पणी गर्नुभयो । 

गोष्ठीपत्र र टिप्पणीमाथि सहभागीहरुले प्रश्न, प्रतिक्रिया तथा सुझावहरु राख्नुभएको थियो । पूरक टिप्पणी मन्तव्य राख्नेहरूमा प्रा.जगत् प्रसाद उपाध्याय, प्रा.डा.रामप्रसाद ज्ञवाली. कोशराज न्यौपाने, प्रा.डा. षडानन्द पौडेल, डा.मधुसूदन गिरी, प्रा.डा. ध्रुव घिमिरे,  समीर सिंह, प्राज्ञ नर्मदेश्वरी सत्याल, सीता ओझा, निबन्ध आचार्य, गोविन्द घिमिरे वेदमणि, सृजना  शर्मा, रमेशप्रसाद  भट्टराई आदि हुनुहुन्थ्यो ।


कार्यक्रमको पहिलो खण्डमा सङ्गोष्ठीका संयोजक तथा साहित्य सदन नेपालका सहसचिव डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) ले अतिथि र सहभागीहरुलाई स्वागत गर्नुभयो । 

कार्यक्रममा डा. राजेन्द्रप्रसाद अधिकारीले साहित्यकार पारिजातबारे मन्तव्य राख्दै पारिजातलाई नकारात्मक आँखाले मात्रै हेर्न नहुने बताउनु भयो । पारिजात के हुन् भन्नु भन्दा पनि के होइनन् भन्नेतर्फबाट व्याख्या गर्ने गरिएको उहाँले गुनासो गर्नुभयो । ‘कतिपय विद्वानहरुले पारिजात के हुन् भन्दा पनि के होइनन् भन्ने पक्षबाट समय खर्चेर बोल्ने गरेको पाइन्छ’ उहाँले भन्नुभयो, ‘त्यो पाटोबाट हामी सचेत हुनुपर्ने अवस्था छ ।’ पारिजात भनेको गतिशील जीवन र बाँच्ने उर्जा भएको भन्दै लामो समयसम्म निराशाहरुलाई छोड्दै छोड्दै माथिल्लो चरणसम्म पुग्नु भएको उहाँको भनाई छ । पारिजात स्मृति केन्द्रले पनि पारिजातको जन्ममिति सच्याएकोले अब हुने अनुसन्धानमा सोही मिति उल्लेख गर्नुपर्ने उहाँको सुझाव छ ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले पारिजातले श्रेष्ठता प्राप्त गरेको विधा आख्यानको विमर्श चलाएर साहित्य सदनले ठूलो काम गरेको बताउनु भयो । गोष्ठी रोचक, उत्साजनक र नवीन ढंगले सञ्चालन भएको भन्दै उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । पारिजात नेपाली साहित्यको शीर्षस्थ नारी स्रष्टा र विशिष्ट व्यक्तित्व भएको उहाँले बताउनु भयो । 

कार्यक्रम समापन गर्दै सभाध्यक्ष तथा सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले अतिथि, कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाली साहित्यका विशिष्ट व्यक्तित्वहरुले कार्यपत्र लेखिदिएर, टिप्पणी गरिदिएर र सहभागी भइदिएर साहित्य सदनको गरिमा बढाएको उहाँले बताउनु भयो । साहित्य सदनले वर्षभरि नै यस्ता कार्यक्रम गर्ने पनि उहाँले बताउनु भयो । साहित्यिक, वैचारिक र विमर्शका कार्यक्रमलाई सदनले बढि प्राथमिकता दिने उल्लेख गर्दै अब प्रकाशनको क्षेत्रमा पनि अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।


सङ्गोष्ठीलाई सदनका सचिव प्रह्लाद पोख्रेलले सञ्चालन गर्नुभएको थियो ।