इलाममा ५८ प्रतिशत र बझाङमा करीब ५० प्रतिशत मतदान

images

काठमाडौँ, १५ वैशाख २०८१ । आज सम्पन्न इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचन,  २०८१ शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आज साँझ आयोगले एक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन सम्पन्न भएको जानकारी गराएको हो ।

पछिल्लो अपडेटअनुसार इलाममा करिब ५८ प्रतिशत र बझाङमा करिब ५० प्रतिशत मतदान भएको आयोगले जनाएको छ । आयोगले जारी विज्ञप्तिमा भनेको छ, ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २  मा करीब ५८ प्रतिशत र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १  मा करीब  ५० प्रतिशत मतदान भएको छ ।’ 

यस उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए । 

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाममा ५९ दशमलव ७८ प्रतिशत तथा बझाङमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

मतपेटिका संकलन जारी 
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको पनि आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार इलामका मतपेटिका मतगणनास्थल इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा राती ११ः०० बजेभित्र र बझाङका मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले वैशाख १६ गते बिहान १० बजेभित्र ढुवानी भइसक्ने आयोगको भनाई छ । ‘बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ’ आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयले भने, ‘मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिनेछ ।’

उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, पर्यवेक्षक, सञ्चारमाध्यम, निजी क्षेत्र, नागरिक समाजलगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोगले हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।