व्यवस्था ठिक भए सबैथोक ठिक हुन्छ भने... !

images

– डिल्लीराज अर्याल

नेताहरू जसरी ‘ भ्रष्टाचार हुन दिन्न,‘ ‘मेलम्ची ल्याएर सडक धोइदिन्छु,’ ‘सिङ्गापुर बनाउँछौं, ’ ‘नयाँ नेपाल बनाउँछौं ‘ आदि आदि भनेर बोल्ने गरे, बोल्छन्, वचन दिने गरे, दिन्छन्, त्यसरी नै नागरिकहरू भन्छन्, प्रश्न गर्छन्- ‘ भ्रष्टाचार हुन दिन्न भन्ने प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारवाही गरेर त देखाउनु पर्‍यो नि ।‘ ‘भान्छा भान्छामा ग्यास कहिले आउँछ ?’ ‘राजधानीमा रेल कहिले? मेलम्चीको पानी आउँछ भनेको कति भयो? हत्यारा, बलात्कारी किन भेटिन्नन्? भ्रष्टाचारीलाई कारवाही कहिले ? " आदि आदि ।

नेताहरू बोलिरहन्छन् र नागरिकहरू सोधिरहन्छन् । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । यस्ता कुरा गाउँघरमा केटाकेटी फकाउन प्रयोग गरिने ‘कुनी पापा’ जस्तै रहेछन्, लागु गरे पनि, नगरे पनि फरक नपर्ने । सके बिर्सलान्, नत्र अरू केही भनेर, दिएर भुल्याए हुने । नेताहरूले बोले अनुसार काम गरेर देखाउन भने चाहेकै हुँदैनन् । चाहे पनि काम गरेर देखाउनु त्यति सजिलो रहेनछ । बोली पूरा नहुनुमा धेरै कुराको असर हुन्छ भन्ने महसुस नभएर बोलिने गरेको हो वा भनिदिए भैहाल्छ भन्ने लागेर हो भनिँदै आएको छ ! भन्न धेरैले भने तर भनेअनुसार कसैले गरेनन् । गर्न सकेनन् र सक्ने अवस्था पनि देखिएन । यसका धेरै कारण हुन सक्छन्, छन् ।

मैले कुनै पदका लागि चुनावी टिकट पाएको भए, त्यो ठाउँमा भएको भए र त्यसो भनेको भए भनेअनुसार गर्न सक्थें कि सक्दिनथें होला ! भनेर सोच्दा म भन्न बाध्य हुन्छु- अवश्य सक्ने थिइन । सक्ने अवस्थै देखिन्न । हो, बरु मैले त्यसो नभन्न खोज्ने वा सक्ने थिएँ कि !

मैले हेरेको, विचार गरेको छु- हाम्रो जस्तो मुलुकमा भ्रष्टाचारीलाई कारबाही गर्दा हर प्रधानमन्त्रीले परे आफू बाहिरिने आँट गर्नैपर्छ । पदमा अडिन खोज्ने हो भने तिनै कारबाही गर्नुपर्नेकै पनि सहयोग लिनु पर्दोरहेछ, किनकि प्राय: तिनै माड, गम, फेबिकोल.....हुने गर्दा रहेछन् । तिनैले धेरैजसोलाई एकअर्कासँग टाँस्ने, जोड्ने गर्दारहेछन् । अनि कसरी कारबाही सफल हुन्छ ? कसले पद धरापमा पर्ने गरी कारबाही गर्छ ? 

सरकारले कारबाही गरेको कुरामा पार्टी, पार्टीकै नेताहरू, मुखियाहरू सहमत हुन्छन्? हुन्नन् भने कारबाही कसरी हुन्छ? गरेन, भ्रष्टाचार बढायो भनेर भन्न मिल्छ, सकिन्छ तर कारबाही गर्न सहमति जुट्दैन। कतिपय पार्टीका मुखियाहरू आफै कारबाही गरिनुपर्ने कोटिका या फेबिकोल, गम बनेका हुन्छन् । भएन, विपक्षी पनि मिलेको हुन्छ। कारबाही गरे सरकार ढल्छ । ढले मिलाउने र सरकार बनाउने कुराका नाइके तिनै हुन्छन्, अझ फेबिकोल गमहरू नै सरकारमा पुग्छन् ।

आज आफ्नैले विरोध गर्ने, बेइमानी गर्ने, भ्रष्टाचार गर्ने, कारबाही गरे विरोधीले तान्ने जुन अवस्था छ त्यो अवस्थामा कारबाही गर्नु सजिलो छैन । बरु तिनै भ्रष्ट अर्कोसित मिल्ने चुनौती दिने, मिल्न जाने सम्भावना हुन्छ । त्यसो भएमा आफ्नो समूह सानो हुन्छ सके पदै जान्छ। यसरी चुनौती दिएका र गएका पनि छन् । पद पनि जाने गरेकै छ । अर्कातिर गएनन् भने पनि कारबाही गर्न खोज्नेलाई असजिलो त पारिदिन्छन् नै। यस्तो भएपछि कारबाही कसले गर्ने? कारबाही रोक्ने कि सत्ता छोड्ने?

विपक्षी त भए नै, आफ्नै पार्टीकासमेत आफू सत्तामा जान अर्कोलाई ढलाउन तयार भएर बसेका हुनेरहेछन्। सत्ताको च्याँखे थाप्न तयार हुँदा रहेछन् । सत्तामा सधैजसो त्यस्तै दाउ हेर्नेहरू र फेबिकोलहरूकै बिगबिगी चल्ने रहेछ । ‘जता मल्खु उतै ढल्कु’ भएर बस्ने तिनको चरित्र हुने रहेछ । यता मौका परे यता, नपरे उता । ‘जहाँ जाला जोगी भातै खाला’। यताकाले नराखे उताकाले राख्ने भएपछि कसलाई केको डर ? यस्तो चरित्रका नेता, कार्यकर्ता भएका पार्टीमा कसैलाई कारबाही गर्नु भनेको सत्ता गुमाउनु बाहेक अर्को हुनै सक्दैन । अनि फेरि सत्ता गुम्दा आउने अनुहार दूधले धोएको हुन्छ र? हुँदैन। तिनलाई साथ दिने र तिनले साथ लिने भनेका पनि तिनै फेबिकोल हुन् । अनि कारबाही गर्नुको के अर्थ? यो कमजोरीमा नागिरक पनि सामेल हुन्छ । उसले पनि त त्यस्तो जानी जानी तिनैलाई मत दिने, जिताउने गरेको छ । गम, माड, फेबिकोलहरूलाई जोड्नुसित मात्र मत्लब भयो । जोड्नुको अर्थ कमाउनु नै हो । फेरि सबैजसोले सहयोग लिने तिनै हुनेरहेछन् । 

जबसम्म मतदाताहरू  आफै भ्रष्टाचारीलाई चिन्दैनन्, तिनलाई बहिष्कार गर्दैनन् । भ्रष्टका मीठा कुरा सुनेर नारा लाउँदै सडक तताउँदै हिड्न छाडेर एउटा निश्चित सोच र कार्यक्रम बनाउँदैनन् तब सम्म मुलुकमा यस्तै चलिरहन्छ । हुने भनेको खालि एउटा भ्र.. जान्छ र त्यसको विरोध गरेर अर्को भ्र.. सत्तामा आउँछ, बस् । आखिर आउने त उनै, उस्तै हुन् ।

हर पार्टी, तिनका मुखियाहरू, विपक्षीसमेत त्यस्ता भ्रष्टलाई आफ्नो पार्टीमा, समूहमा लिन तम्तयार भएर बसेका हुन्छन् । भ्रष्ट मात्र होइन, बलात्कारी, हत्यारा,.... सबै अन्त, अरूका हुँदा मात्र भ्रष्ट, बलात्कारी, हत्यारा,...हुने र आफ्ना हुने बित्तिकै इमान्दार, समर्पित, त्यागी, नेता, कार्यकर्ता हुनेरहेछन् । तिनलाई झण्डा र अबीरले स्वागत गर्ने तिनै मुखिया हुन्छन् । कार्यकर्ता तिनलाई तुल बिछ्याउन र खादा, माला लाइदिन, स्वागत गर्न तयार भएर बसेका हुन्छन् । 

चुनावमा अरूले जित्दा धाँदली, आफूले जित्दा जनताको अभिमत हुन्छ । हाम्रो लोकतन्त्र, गणतन्त्रको पहिचान यस्तै बन्दै गएको छ । यसकै लागि जातिमा, लिङ्गमा, धर्ममा, पहाड -मधेशमा विभेद देखाउँदै विवाद बढाउने कोशिस भएको हो भन्ने आधारहरू देखिंदै गएका छन् । अरू सबै कुरामा विभेद देखाउने र विवाद गराउनेले आफूले गर्ने भनेको पनि त्यही फेबिकोल बन्ने या त्यसकै सहयोग लिएर भर्‍याङ चढ्ने, तलामाथि जाने, कौसीमा बस्ने हो रहेछ। 

अर्काको भए मात्र हत्यारा, भ्रष्ट, बलात्कारी हुने आफू वा आफ्नो भए चोखा हुने र जोगिन वा जोगाउन, गणतन्त्रका पहरेदार, क्रान्तिकारी, लोकतन्त्रका पर्याय भनेर अबीरजात्रा गर्न पनि तयार हुने, अर्काको भए कारबाही गर्नुपर्ने व्यवस्था, परम्परा बन्दै गएको देखिन्छ । यसो भएसम्म हाम्रो देशको अवस्था यस्तै हुन्छ । कारबाही नगर्ने त अरू मात्र हुन्छन्, आफ्नो जिम्मामा आयो भने गर्ने आँट कसैको हुँदैन । यही देखिएको छ, यस्तै भोग्दै आएको छ सर्वसाधारण नेपालीले। 

एउटा पार्टीले कारबाही गरेकोलाई अर्को कुन पार्टीले लिन्न ? आरोप लागेकालाई अर्को दलले नलिने, लिन नपाउने कानून बनेको छ र? बनेको हुन्थ्यो भने केही फरक हुन्थ्यो कि ! अहिले त विपक्षीले पनि कारबाही गरे आफूतिर तान्छन्, आफ्नो बनाउँछन्, नगरे ‘गरेन’ भन्छन् ! अरू दलले त त्यसो गर्ने नै भए आफ्नै दलकाले पनि गर्छन् भने कसरी हुन्छ कारबाही ? बरू तिनलाई जोगाउन दौडधूप हुन्छ, प्रतिष्पर्धा हुन्छ।

हर दल यस्तै प्रतिष्पर्धामा छ, हर नेता यसैको प्रतिष्पर्धामा छन्। प्रतिष्पर्धा अरूका कमजोरी देखाउने, अरूलाई कमजोर बनाउने, अरूका दोष देखाउने, आफूले त्यही गर्ने, अरूलाई भन्ने, आफूले त्यही अपनाउने र सत्ता समाउने मात्रमा छ । न देश हितको कुरोमा प्रतिष्पर्धा छ, न जनहितका  कुरामा । देश र जनता त सत्तामा जान देखाउने बोर्ड, तूल मात्र बनाइएका छन् ।

नेताहरू मात्र विदेशीका कुरा सुन्ने, तिनकै पुच्छर समाउने, सधै क्रान्ति भन्ने, बुद्धिजीवी तिनकै पुच्छर बनेर आन्दोलनमा हिड्ने, हामी सधै पछि लाग्ने जस्तो विडम्बना रहेसम्म भ्रष्टाचारीलाई कार्बाही गर्ने कुरा नारा मात्र हुन्छ । अर्कालाई खसाल्ने कुरा मात्र हुन्छ । कोशी, गण्डक सम्झौता, टनकपुर, महाकाली सन्धि, उद्योगधन्दाहरूको बिक्री, एनसेल, जहाज खरिद, बालुवाटार, वाइडबडी, समानुपातिक सांसद्, सांसद्को टिकट, कोरोना औषधि, उपचार सामग्री, जहाँ हेरे पनि, जे हेरे पनि, जसका, जुन पार्टीका, जुन समूहका हेरे पनि यस्तैका उदाहरणै उदाहरण बनेका छन् ।

कसरी अमुक दलका मात्र भ्रष्ट हुन्छन्? भ्रष्ट, हत्यारा, बलात्कारीका संरक्षक हुन्छन्? कारबाही नगर्ने हुन्छन्? विदेशी दलाल हुन्छन्? हर मत माग्ने अविकसित, विकासोन्मुख वा अल्पविकसित देशहरूमा देखिने समस्या यिनै र यस्तै हुन् । मात्रात्मक अन्तर होला । भोटका लागि जे पनि गर्नुपर्ने परिस्थितिको सिर्जना सत्ता नजिककाले, सत्ता भित्रकाले, विपक्षीदलका नेताहरूले आफै गरिरहेका हुन्छन् । आफूले जे गरे पनि हुने, अरूलाई गर्‍यो भन्ने र हल्ला मच्चाउने, सत्ताच्युत गराउने र आफू गएर फेरि त्यही गर्ने ! हर हल्ला आफू सत्तामा पुग्नका लागि गर्ने, हुने देखिएको छ । अझ आफूले गरेको गल्ती अर्कातिर र अरूले गरेको राम्रो कामको जस आफूतिर देखाउनेसमेत हुने गरेको छ, हुन्छ । 

जुन समाजले, जुन व्यवस्थाले, जुन देशले, जुन देशको नेतृत्त्वले र जुन देशको नागरिकले राम्रो काम गर्नेको मूल्याङ्कन गर्न सक्दैन, गर्न खोज्दैन, गर्दैन, त्यो समाजमा, त्यो व्यवस्थामा, त्यो देशमा, त्यो नेतृत्त्वमा हुने यस्तै हो । यस्तै भैरहन्छ, खालि भाषण हुन्छ, नारा लाग्छ, विरोध हुन्छ, जुलुस हुन्छ तर आफूले मौका पाउनासाथ गर्ने त्यही नै हो । नत्रभने हर नेतृत्त्वमा जानेले अघिल्लो नेतृत्त्वमा, सत्तामा र विपक्षमा बस्नेहरूको गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने परिपाटी बस्नैपर्छ, बसाल्नैपर्छ । हर नागरिकले हल्लाका पछि नलागेर यथार्थ के हो भन्ने बुझ्ने र त्यसका आधारमा मूल्याङ्कन गर्ने अभ्यास गर्नैपर्छ ।

यसो भन्दै गर्दा पृथ्वीनारायणको, महेन्द्रको कुरो सबैभन्दा अगाडि आउँछ। ‘पृथ्वीनारायणले कीर्तिपुरेको नाक काटे ।‘ ‘महेन्द्रले निरङ्कुशता लादे ‘ आदि आदि । नाक काटे, काटेनन्, निरङ्कुशता लादे लादेनन्, ती सबै आफ्ना ठाउँमा छन् तिनको ब्याख्या फरक-फरक कोणबाट होला तर अहिलेको नारा, हल्ला त यिनै हुन् । त्यो पनि हजारौं मान्छे मारेर सत्ता परिवर्तन गर्ने, सत्तामा जाने क्रान्तिकारी भनिनेहरूले बढी उठाएका छन् । तिनका शालिकै तोड्ने कामसम्म पनि भए । अझ विद्वेष बढाएर देवकोटा, भानुका शालिक तोड्नेतिरसमेत लगाए ।

अब, प्रश्न उठ्छ नाक काटेकै हुन् भने पनि राष्ट्र निर्माणका क्रममा भएको युद्धमा नाक काट्ने अपराधी हुने, त्यसरी निर्माण भएको देशमा व्यवस्था परिवर्तनका नाममा हजारौं मान्छे मार्ने क्रान्तिकारी हुने मूल्याङ्कन यथार्थ हुन मिल्छ? राष्ट्रको एकीकरण अभियान र व्यवस्था परिवर्तनको अभियान बराबर महत्त्वको हुन्छ?

राजनीतिमा सबैका सबल र कमजोर पक्षको निरुपण हुनुपर्ने होइन? जनताले मत दिएका त हुँदै भए, मत नदिएर हराएका ब्यक्ति पनि संसद्मा, सत्तामा गएर शासन चलाउन मिल्ने, अनि महेन्द्र निरङ्कुश हुने मूल्याङ्कन यथार्थ हुन्छ? महाधिवेशनले छान्ने एउटालाई, बीचमै पद लिने अर्कै हुने कुरा लोकतान्त्रिक हुन्छ? अदालतमा उजुरी पनि दिने आफ्नो पक्षमा फैसला हुनैपर्ने, नत्र...? भनिने हो भने कानुनी राज्य रहन्छ? विना कानुनी राज्य लोकतन्त्र हुन्छ?

त्यसैले हाम्रो पढाइ, हाम्रो बुझाइ र काम गराइ, हाम्रो सोच लगायतका कुराहरू यथार्थमा आधारित छैनन् । एउटा निश्चित सोचमा, पद्धतिमा, मान्यतामा आधारित छैनन् । अरू कसैको सङ्केतमा, निर्देशमा, भनाइमा आधारित छन् । हल्लामा आधारित छन् । म त सम्झिरहन्छु- 

“अमन्त्रं अक्षरं नास्ति नास्ति मूलमनौषधम्, 
अयोग्य: पुरुष: नास्ति योजकस्तत्र दुर्लभ: ।”
(मन्त्र नहुने अक्षर छैन, औषधि नहुने जरा छैनन्, अयोग्य व्यक्ति छैन तिनलाई जोड्ने मान्छे दुर्लभ छ।) 

मात्रामा फरक हुन मिल्ला ! गल्ती कमजोरी भए होलान्, हुन्छन्, तर तिनका राम्रा पक्ष पनि अवश्य थिए होलान् । त्यसैले तिनको नियत के थियो ? त्यसले के उपलब्धि भयो ? के गुम्यो ? तिनले के त्याग गरे ? के स्वार्थ साधे? आदिका आधारमा यथार्थ मूल्याङ्कन गरेर त्यसै अनुसारको व्यवहार गर्नु उचित र उपलब्धिमूलक हुन्थ्यो । एउटाले अर्कोको गुण नदेख्ने परम्परा देशका लागि दुर्भाग्य बाहेक केही हुँदैन । के पृथ्वीनारायण, महेन्द्र, वीरेन्द्र, कीर्तिनिधि, मरिचमान आदिले गरेका सबै गलत र प्रचण्ड, माधव, गिरिजा, ओली, बाबुराम, शेरबहादुर आदिले गरेका सबै सही हुन मिल्छ ? हुन्छ ? के यस्तै मूल्याङ्कनले समाजले गति लिन्छ? 

गणतन्त्र भनिएको व्यवस्थामा पनि पार्टीका मान्छे, पार्टी त नहुनेरहेछ। पार्टीका मान्छे बनेर बस्न नमिल्ने, नसकिने रहेछ। खै त आज पार्टीका मान्छे? माधवका, प्रचण्ड, ओली, देउवा, गौतम, पौडेल, कोइराला, भट्टराई, यादव, ठाकुर आदिका मान्छेले पार्टी किन हेर्छन् ? तिनी जसका हुन् तिनलाई हेर्छन्। व्यक्तिका, गुटका पछि लागेर हिड्नेले पार्टी,‍ देश र जनता हेर्छ? 

गणतन्त्रमा पनि त दल, दलका नेता- कार्यकर्ताले जनतालाई स्वतन्त्र बस्नै नदिने, बस्नै नसक्ने बनाइदिने रहेछन् । दलमा लागेर तिनका बदमाशीमा सामान्य मान्छे समेत मुछिनुपर्ने, तिनकै वकालत गर्नुपर्ने बनाइदिने रहेछन् । आफ्नै योग्यता- क्षमताले, नियम- कानूनले पाउनुपर्ने कुराबाट समेत वञ्चित गराइदिने रहेछन् । जागिर खानै नपाउने वा नसक्ने बनाइदिने रहेछन् । पार्टीमा गयो, गुटमा लाग्नुपर्ने, गुटमा पनि एउटामा गयो अर्कोबाट तिरष्कृत हुनुपर्ने। पार्टीमा, पार्टीको बनेर बस्न पनि नदिने रहेछन् । यही स्थितिबाट गुज्रिएको छ देश, यस्तै अवस्थामा छ जनता । अनि ‘गणतन्त्र ल्यायौं, लोकतन्त्र दियौं’ लाई ब्यर्थैको धाक नभनेर के भन्नु !

पद समाउन, नातापाता पोस्न, जसरी पनि चुनाव जित्न र सत्तामा पुग्न खोज्नेलाई आएको गणतन्त्रको रक्षा अरू कसले गर्छ ? कसलाई यसको सुरक्षाको खाँचो हुन्छ ? हिजो ज्यान अर्पेर लडेकैहरूलाई समेत ‘भो चाहिएन’ भन्ने अवस्थामा कसले पुर्‍यायो ? हिजो आफ्नै पार्टीको सरकार ढाल्ने खेल कसकसले खेले ? आज कसकसले खेल्दैछन् ? अनि भोलि ...? किन र कसका लागि यस्ता खेल खेले? आज कसका लागि र किन खेल्दैछन् ? 

नेताहरू भन्छन् -‘मेरो मान मर्दन गरे । मैले रगत बगाएर ल्याएको गणतन्त्र !’ तिनले आफ्नो मान मर्दन भएको त देख्छन्, जनताको मान मर्दन भएको देख्दैनन् । देश जटिल अवस्थामा पुगेको र देशकै मान मर्दन भएको हेर्दैनन् । आफ्नो योगदान त देख्छन् अरूको देख्दैनन् । 

म कुनै नेताको, गुटको, पार्टीको, वादको नभैकन हेरें भने मैले नेपाललाई हरपटक बहुमतको वा दुईतिहाइको सरकार बने पनि पूरा अवधि चलाउन नसक्ने नेता, पार्टी भएको देशका रूपमा देख्ने भएँ र देख्छु । व्यक्तिलाई निरङ्कुश बनाउने र सरकार ढलाउने पनि सबै आफ्नै पार्टीका नेता हुने देश भनेर पनि भन्ने भएँ, भन्छु । विदेशसँग विवाद परिरहेको वेला विदेशलाई सहयोग पुग्ने खेल खेल्ने नेता भएको देश भनेर पनि चिन्ने भएँ, चिन्छु। यो अवस्थामा सिधासादा जनता निराश नहुने कुरो हुन्छ ? निराशामा गणतन्त्र वा अन्य कुनै तन्त्र जोगाउने कुरो कसैले सोच्छ? 

रह्यो भ्रष्टाचारी, बलात्कारी, हत्यारालाई कारबाही गर्ने कुरा ! हर नेतृत्त्वलाई ‘दिऊँ आफू नाङ्गो नदिऊँ सँगीको मुख बाङ्गो’ बनाउने हो भने व्यवस्था कसैलाई कारबाही गर्ने, गर्न सक्ने बन्छ? 

‘व्यवस्था राम्रो भयो भने सबै कुरा ठिक हुन्छ’ भन्दै हिजोका व्यवस्थाका विरोध गर्ने र गणतान्त्रिक व्यवस्थाको गुलियो चटाउनेहरूले भन्नुपर्‍यो - नेपालको अहिलेको अवस्थाले अहिलेको व्यवस्थालाई राम्रो भन्न दिन्छ? जनतालाई सन्तुष्टि दिएको छ? दिएको भए अहिले अधिकांश जनताले किन यस्ता प्रश्न गर्ने गरेका छन् -

- यो व्यवस्था साँच्चै नै सबैभन्दा राम्रो हो कि होइन?
- राम्रो व्यवस्था आएर सबै कुरा ठिक भयो कि भएन? 
- व्यवस्था राम्रो भएर हुने रहेछ कि रहेनछ? 
- व्यवस्था राम्रो भए सबथोक ठिक हुन्छ कि व्यवस्थापन राम्रो भए?
- राम्रो भनिएको व्यवस्था ल्याए पनि अवस्था राम्रो भएन भने व्यवस्था राम्रो भयो कि भएन?
- व्यवस्थाले मात्र हुन्न, व्यवस्थापन चाहिन्छ भने नयाँ व्यवस्थापक चाहिएको छ कि छैन?
- व्यवस्था / व्यवस्थापकहरूमध्ये कुनै एउटा फेरेर विचार गर्ने कि नगर्ने?
- अथवा यी दुवै फेरेर हेर्ने कि नहेर्ने?......आदि आदि ।

२०७७ पुस १५
पाल्पा, हाल: काठमाण्डौं