साहित्यकार चक्रपाणि चालिसेका नातीको मुक्तक सङ्ग्रह मेलबर्नमा विमोचन

साहित्य

मेलबर्न (अस्ट्रेलिया), ७ जुलाई, पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणि चालिसेका नाती सुशील चालिसेको पहिलो पुस्तकको रुपमा प्रकाशित मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ को मेलबर्नमा आयोजित एक कार्यक्रमकाबीच विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत महामहिम चन्द्र योन्जन र विशेष अतिथि लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले कृतिको संयुक्त रुपमा विमोचन गरेका थिए ।

प्रमुख अतिथि योन्जनले जहाँँ भावुकता हुन्छ त्यहाँ साहित्यको सृजना हुन्छ भन्दै विमोचित पुस्तकका लेखक चालिसेलाई बधाई ज्ञापन गर्दै यो दिनले अझै सशक्त रुपमा कलम चलाउन हौसला प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे । भिक्टोरियाका नेपालीहरुको बीचको एकताको कारण यसले ठूला महत्वपूर्ण कार्यक्रम भब्यताका साथ गर्दै आएकोमा यहाँँ साहित्यकारहरुको संख्या बढिरहेको आधारमा भिक्टोरिया नेपाली साहित्यको राजधानी बन्न सक्ने सम्भावनातर्फ उनले इंगित गरे ।

विमोचित पुस्तकको समालोचना गर्दै विशेष अतिथि श्रेष्ठले देशमा विद्यमान विसंगतिहरुप्रति सचेत रहँदै सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक सबै क्षेत्र समेटेको मुक्तक संग्रहमार्फत सरलता र जीवन भोगाइलाई झल्काउन लेखक सफल भएको बताए । मन्तब्य ब्यक्त गर्ने क्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यको विभिन्न क्षेत्रको चर्चा गर्दै विदेशमा बस्ने नयाँँ पुस्ताकाबीच चक्रपाणि चालिसेको परिचय र महत्वलाई निरन्तरता दिने सेतुको रुपमा काम गर्ने उचाइ कायम गर्ने किसिमले नेपाली साहित्यलाई योगदान दिने सफलता विमोचित पुस्तकका लेखकलाई मिलोस् भन्ने शुभकामना ब्यक्त गर्दै पुस्तक प्रकाशन गरेकोमा हार्दिक बधाई ज्ञापन गरे ।

कार्यक्रममा रोजी डंगोल, अभिलाषा शर्मा र आस्था पौडेलले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय साहित्यकारहरु माधव पौडेल, उत्तम पन्त, अनुपम पाठक (सायर), आशिष भेटुवाल, मनोज पौडेल, कृष्ण सापकोटा, आर्जन पौडेल, पार्वती पाहारी र ११ वर्षीय आँचल पौड्यालले आ-आफ्नो साहित्यिक रचनावाचन गरेका थिए ।

सेभेन एपिक इण्टरटेनमेण्टका डाइरेक्टर उज्वल घिमिरेको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको लागि बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी, न्यु कन्सेप्ट फाइनान्स, फ्लाई टु नेपाल र एभेरेस्ट अनलाइन स्टोरको प्रायोजन रहेको थियो । सेभेन एपिक इण्टरटेनमेण्ट तथा मेलबर्न नेपलिज कम्युनिटी वेस्टद्धारा आयोजित कार्यक्रमको सभापतित्व शंकर थापाले गरेका थिए भने पत्रकार एवम् साहित्यकर्मी निरु त्रिपाठीले कार्यक्र्मको उदघोषण गरेकि थिइन् । कार्यक्रममा मेलबर्नका अधिकांश प्रमुख संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।

Loading...