आस्थाको ‘उज्यालाको खोजी’ सार्वजनिक

साहित्य

काठमाडौं, २४ असार, कवि, गजलकार आस्था केसी गजल कृति ‘उज्यालोको खोजी’ मार्फत नेपाली साहित्य आकाशमा उदाएकी छिन् । उनले आफ्नो पहिलो गजल कृति सार्वजनिक गरी आफूलाई साहित्यकारको भीडमा उभ्याएकी छिन् ।

अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा शनिबारबाट भएको एक कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाज परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले साहित्यका अन्य विधा जस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्टाहरुले आफू अनुकूल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे ।

प्रमुख अतिथिको आसनबाट बाल्दै वरिष्ठ गजलकार रावलले नेपाली शब्द हुँदाहुँदै आयातित शब्द प्रयोग नगर्न सबै गजलकारलार्इ आग्रह पनि गरे । आयातित शब्द प्रयोग गर्दा नेपाली भाषा र साहित्यमाथि अन्याय हुने हुनाले त्यस्ता शब्द प्रयोग नगर्दा नै राम्रो हुने उनको सुझाव छ । उनले साहित्यकारले समाजमा भएका तमाम विकृति र व्यतिथिविरुद्ध लेख्नु पर्ने पनि बताए ।

‘उज्यालोको खोजी’ संग्रहकी लेखक आस्था केसीले आफू १५/१६ वर्षको किशोर अवस्थामा जनयुद्धमा लागेको र त्यहि समयबाट नै गीत, कविता र गजल पढ्न र लेख्न थालेको बताइन् । उनले आफूले गजल विधाको औपचारिक रुपले सैद्धान्तिक अध्ययन नगरे पनि हिजोका आँधी, हुरीमय जनयुद्धकालीन मुक्ति यात्रामा गजल लेख्न सिकेको बताइन् । जनयुद्धको मुक्ति यात्रामा देखेका सपना आंशिक रुपमा मात्र पूरा भएको बताउँदै उनले राजनैतिक रुपमा प्राप्त परिवर्तनलाई व्यवहारमा लागू गर्न नसक्नु बिडम्बना भएको धारणा व्यक्त गरिन् ।

जनयुद्धले दिएको सबैभन्दा ठूलो चेतना वर्गीय मुक्ति चेतना रहेको भन्दै सञ्चारकर्मी समेत रहेकी केसीले हिजो आफूहरु वर्ग मुक्तिको यात्रामा लागेको र आज पनि साहित्य र पत्रकारिताको माध्यमबाट निमुखाको प्रतिनिधित्व गरिरहेको बताइन् ।

पुस्तकमाथि गजलकार तथा समालोचक प्रभाती किरण, ज्ञानु विद्रोही, शैलेन्द्र अधिकारी, डा. भोजराज अधिकारी, विश्लेषक नरेन्द्रजंग पीटर लगायतले बोलेका थिए । अन्तर्राष्ट्रिय गजल मञ्च नेपाल च्याप्टर संयोजक भरत पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन अन्तराष्ट्रिय गजल मञ्च नेपालका अध्यक्ष घनेन्द्र ओझाले गरेका थिए । यो पुस्तक कन्दरा पब्लिकेशन्सले प्रकाशन गरेको हो ।

Loading...