गायिका पूजालाई मायाले चोटै चोट दियो . . . ! (भिडियोसहित)

आजको म्यूजिक

काठमाडौँ, ९ असार, गायिका पूजा सुनुवारलाई मायाले निक्कै धेरै चोट दिएको छ । वास्तविक जीवनमा त उनलाई चोट दियो वा खुसी, त्यो त सोधखोजकै विषय छ तर उनीद्वारा गाइएको एक गीतले भने त्यसै भन्छ । निक्कै मिठो स्वरकी धनी पूजा सुनुवारको भरखरै सार्वजनिक गीतले भन्छ, ‘मायाले त चोटै चोट मात्र दिँदो रैछ, बीचबाटोमै छोडी एक्लो पार्दो रैछ….’ । हो त ? के सबैलाई मायाले चोट मात्रै दिन्छ ?

नवीन के भट्टराईलाई पनि मायाले निक्कै सताएको थियो र ‘तिम्रो मायाले मलाई सताउँछ…’ भनेर घोषणा गरेका थिए । लक्ष्मीपूजा फिल्ममा साधना सरगमले पनि ‘मलाई मायाले सतायो लौ…’ भन्दै सार्वजनिक गरेकी थिइन् । अन्जु पन्तले पनि मायाले भतभती पोलेको अनुभव छ । कुबेर राईलाई त मायाले काँडाले जस्तै नराम्रोसँग बिझाएको थियो भने मायाले मूलबाटो भूलेको कथा अर्कै छ । यता राजेश पायल राई त कसैले माया नलाउनु, नगर्नु भन्दै निष्ठूरी मायाले रुवाएको गुनासो सुनाउँथे । गायक प्रमोद खरेललाई पनि पापी मायाले डुबाउनु डुबाएको थियो । झन् मायाले यस्तरी मारेको त चलचित्र अल्लारेमा यम बराललाई नै सोध्नु पर्छ । अब पूजा सुनुवारलाई पनि मायाले चोट दिएको अनुभव छ ।

मायाले सबैलाई चोट मात्रै दिँदैन । कतिलाई त मायाले हासो, खुसी र उमङ्ग पनि दिएको छ तर यहाँ गायिका पूजा सुनुवारको सन्दर्भमा चोट मात्रै दिएको छ ।

यो भाव उनको भरखरै सार्वजनिक गीतको हो । यो गीतमा गायिका पूजालाई भलाकाजी राईले स्वरमा साथ दिएका छन् । लिना राईको शब्दलाई पुस्कर सुनुवारले संगीत र एरेन्ज गरेका हुन् । गीतको स्टुडियो कभर भिडियो पनि सार्वजनिक भएको छ ।

यो निक्कै मिठो र मर्मस्पर्शी गीत सुन्नुहोस्ः

Loading...