ट्रेड युनियन कांग्रेसमा पौडेल पक्षधर पुष्कर आचार्यको प्यानल नै विजयी, भातृ तथा शुभेच्छुक संगठनमा देउवा कमजोर बन्दै

अर्थ-बजार

काठमाडौँ, २ असार, नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यको प्यानल नै विजयी भएको छ । छैठौँ महाधिवेशनबाट रामचन्द्र पौडेल पक्षधर आचार्यको प्यानलले देउवा पक्षधर खिलनाथ दाहालको प्यानललाई पराजित गरेको हो ।

आचार्यको प्यानलमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, गगन थापा, प्रदीप पौडेल लगायतका नेताहरुको समर्थत रहेको थियो । यता दाहालको प्यानललाई पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री शशांक कोइरालालगायतको समर्थन थियो ।

नवनिर्वाचित समितिको अध्यक्षमा आचार्यसहित वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष खुलामा तेजेन्द्रजंग कार्की र अजयकुमार राई, महिला उपाध्यक्षमा इन्दिरा सापकोटा, सेवा उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन उपाध्यक्षमा ललित श्रेष्ठ, अनौपचारिक उपाध्यक्षमा आशासिंह राठौर निर्वाचित भएका छन् ।

यसैगरी संगठनको महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन् । उपमहासचिव खुलामा गणेशबहादुर केसी र ज्योति कोइराला, महिला उपमहासचिवमा राधिका कुँइकेल, सेवा उपमहासचिवमा सीताराम अवस्थी, अनौपचारिक उपमहासचिवमा राजेश पालिखे, उत्पादन उपमहासचिवमा इश्वरबहादुर परियार निर्वाचित भएका छन् ।

यता कोषाध्यक्षमा भने मोहनकुमार बस्नेत र सहकोषाध्यक्षमा सुशीला घिमिरे निर्वाचित भएका छन् । यसैगरी संगठनका २७ केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन् । जसमा एकजना सदस्य भने देउवा पक्षका परेका छन् ।

जेठ २८ गतेबाट सुरु भएको छैठौँ महाधिवेशनमा कुल १ हजार ४ सय २० मतदाता रहेको र जसमध्ये १ हजार ३ सय ९८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको पार्टी केन्द्रीय समितिसहित अन्य भातृसंगठनमा ठूलो वर्चश्व रहे पनि मजदुर संगठन ट्रेड युनियन भने हातबाट फुस्किएको छ । पछिल्लो समय भातृ तथा शुभेच्छुक संगठनमा देउवाको वर्चश्व घट्न थालेको देखिएको छ । उनी पराजित हुँदै गएको अनुमान कांग्रेसकै कतिपय नेताहरुले लगाउन थालेका छन् । यसअघि शिक्षक संगठन, कर्मचारी संगठन र इन्जिनियरिङ संगठन पनि देउवकाको हातबाट फुस्किसकेको छ ।

Loading...