छिन्नमस्ता मन्दिरको करोडौँ आय–व्ययको हिसाब किताब नै छैन

कला/संस्कृति

कृष्ण मण्डल, राजविराज (सप्तरी), विश्वको १०८ शक्तिपिठ मध्ये ५२ स्थानमा पर्ने सप्तरी जिल्लामा अवस्थित छिन्नमस्ता भगवती मन्दिरको मासिक आम्दानी लाखौं भए पनि विकास निर्माण र पर्यटन प्रवद्र्धन लगायतका कार्यहरुले गति लिन सकेका छैनन् ।

भाडामा लगाएका सटर, बलि प्रदान शुल्क, पाकिङ्ग शुल्क, मुण्डन, गाडी पूजा, गाडी पाकिङ्ग, विवाह, दानपेटीकाआदिबाट मासिक करिब ५ लाख भन्दा बढी आम्दानी भइरहेको मन्दिरका पिठाधिश महाकान्त ठाकुर बताउँछन् । ०७५ वैशाख १३ गतेदेखि वैशाख ३१ गतेसम्ममा मात्रै ५ लाख ७८ हजार नगद, २ किलो ७ सय ५० ग्राम चाँदी र १ आना सुनको टीका सहित आम्दानी भएको पनि उनले बताए । तर त्यो नगद र जिन्सी कहाँ जान्छ त्यसको अत्तोपत्तो छैन ।

१४ विगहा १७ कठ्ठा ५ धुर मन्दिरको आफ्नो जग्गा भए पनि यसबाट हुने आम्दानीको कुनै एकिन विवरण भेटिएको छैन । अवस्थामा ठाकुले भने, – ‘यसबाट जे जति आम्दानी हुन्छ ती सबै माताको स्याहार सुसार र मन्दिरमा खटिएका आफूसहित १८ जना पुजारीहरुको खर्च पूर्ति भइरहेको छ ।’ माताको पञ्चगव्य स्नान, भोग, आरती, पान, प्रसादमा र ३२ व्यञ्जन सहित खानामा मात्रै मासिक रु ७० हजार बराबर खर्च हुने गरेको पनि ठाकुर बताउँछन् । जबकी ०७३÷७४ को लेखा परीक्षण प्रतिवेदनमा ८ जना पुजारीको नाममा मात्र खर्च हुने गरेको उल्लेख छ ।

त्यस्तै छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर ६ स्थित कोचाबखारीमा रहेको ७ कठ्ठा जग्गा कसको नाममा, कहाँ र कसले भोगविलास गरिरहेको छ र अहिलेसम्म मन्दिरको नाममा किन नामसारी भएको छैन भन्ने कुरामा ठाकुर बोल्न चाहेनन् ।

त्यही कुरा गुठिदार प्याकुरेललाई सोध्दा उनले भने– ‘मन्दिर समिति र ठाकुर जीलाई नै जानकारी होला, म त त्यहाँ कहिले काहीँ मात्र जान्छु ती सबै कुराको जानकारी पनि थिएन जति तपाईंले मलाई सोध्नु भयो । मेरो हजुरबुवाले दिइसकेको सम्पतिमा मलाई कुनै लोभ छैन तर सो जग्गामा प्रहरी चौकी, विद्यालय, पञ्चायत भवन र अस्पताल वा अन्य कुनै सरकारी संघ संस्था खुल्नु भएन त्यो जग्गा केबल धार्मिक काम र माताको लागि उपयोग हुनु पर्यो ।’

विगत ०४७ सालमा गुठीदार अविनास प्याकुरेलको अध्यक्षतामा छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समिति गठन भए पनि ०५२ सालमा मात्र औपचारिक रुपमा दर्ता भएको थियो । सोही समयदेखिको मन्दिरमा आएको चढाबा स्वरुप सुन, चाँदी र दानपेटिकामा जम्मा भएको रकमहरुको विवरण कतै उल्लेख भएको छैन । तर प्याकुरेले भने – ‘ती सबै विवरण त्यही कार्यसमितिमा रेकर्ड छ ।’ हालै गठन भएको ५ सदस्यीय तदर्थ समितिका संयोजक समेत रहेका ठाकुरले त्यति बेला संकटकाल भएको कारणले चोरी र लुटिने डरले गर्दा समितिका सदस्यहरुले नै आ–आफ्नो जिम्मामा राख्ने गरेको स्वीकार गरे । तर उनीहरूले राखेको नगद र जिन्सीको विवरण अहिलेसम्म पनि सार्वजनिक भएको छैन भने तल चीज कहाँ छन् कसैले भन्न सक्ने अवस्था छैन ।

त्यति बेला सचिव पदमा रहेका रामनारायण यादवले भने, “हो म ०५२ सालदेखि ०५७ सम्म सो पदमा थिएँ र यी सबैको रेकर्ड पनि राखेको थिएँ तर अचानक म ०५७ सालमा भूमिगत हुँदा ती सबै त्यही समितिमा जिम्मा लगाए गएँ ।” यादव पुनः कार्यसमितिमा आएर ०७१ फाल्गुन ०१ गतेदेखि ०७५ वैशाख १२ गतेसम्म कार्यवाहक अध्यक्ष पदमा रहँदा १० तोला १ आना सुन, एक सय ८ तोला ११ आना चाँदी जम्मा विवरण छ उनीसँग । तर त्यो भन्दा अघिको नगर र जिन्सीको हिसाब आफूसँग नभएको उनले बताए ।

अहिले पर्यटन मन्त्रालयबाट २० लाख र ३० लाख गरी जम्मा ५० लाखको बजेट मन्दिरको नाममा आएको छ र १० लाख प्रदेश नम्बर २ सरकारबाट आउने क्रममा छन् । ती बजेटले हाल पार्किङ्गको काम भइरहेको र अन्य विकासका काम हुने ठाकुरले बताए ।

मन्दिरको आम्दानीमा रहेको करोडौं रकम चाहीं कहाँ जान्छ र सरकारी कोषबाट आएको पैसाको कति हिस्सा खर्च हुन्छ यो विषयको खोजीमा सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।

मन्दिरको नाममा निर्माणाधीन पार्किंग स्थल

Loading...