प्रदेश २ को सरकारबाट राजपा फिर्ता हुने

राजनीति

काठमाडौं, २४ जेठ, राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको पनि बताए ।

उनले यही जेठ २५ गते बस्ने पार्टीको राजनीतिक समितिको बैठकबाट प्रदेश नम्बर २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उनले भने, ‘ढटुँवा कम्युनिष्टहरुलाई हामी समर्थन गर्दैनौं, त्यसैले २५ गतेको बैठकबाट ढटुँवा कम्युनिष्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।’

नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौ हामीलाई मत दिनुहोस् भनेर ढाँटेको बताउँदै अब ढटुँवा कम्युनिष्टहरुलाई दिएको समर्थन जारी नरहने स्पष्ट पारे ।

नेता सुमनले राजपा संसदमा तेस्रो ठूलो दल र २ नम्बर प्रदेशमा पहिलो शक्ति भएको जिकिर गरे । उनले भने, ‘राजपा विरुद्ध कम्युनिष्ट र फोरम मिलेर षड्यन्त्र गरेका छन्, हामीलाई निमिट्यान्न पार्न खोजिँदैछ, हामीलाई बाईपास गरेर मधेशमा गरिने कुनै पनि सम्झौताको औचित्य छैन्, नेकपा र फोरमबीचको २ बुँदे सहमतिपनि मधेशको हितमा छैन् ।’

नेकपा र फोरमबीचको सहमति पनि चुट्किला र हाँसोको पात्र भएको आरोप लगाए । नेता सुमनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रारा तालमा हावा खाने र काखे बालक च्यापेर चुट्किला सुनाउनेबाहेक अरु केही नसकेको आरोप लगाए ।

Loading...