ट्रम्प–किम वार्तामा गोर्खा प्रहरीले सुरक्षा दिने

समाचार

सिंगापुर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा वार्ता हुँदैछ । सो वार्ता स्थलको सुरक्षामा सिंगापुर प्रहरीको गोर्खा टुकडी खटिने भएको छ । वार्ता स्थानीय समयअनुसार बिहान ९ बजेबाट हुने ह्वाइट हाउसले जनाएको छ । लामो समयको वैचारिक र कुटनीतिक द्वन्द्वपछि अमेरिका र उत्तर कोरियाका उच्च नेताबीच भेटवार्ता हुन लागेको हो । यो वार्तालाई विश्वले चनाखोका साथ हेरिरहेको छ ।

दुबै नेताहरुले आ–आफ्ना सुरक्षाकर्मी पनि ल्याउने छन् तर दुई नेता बस्ने होटल, उनीहरु हिड्ने सडक र वार्तास्थलको सुरक्षामा भने गोर्खा टुकडी रहने छ । गोर्खा टुकडीले गत साता सिंगापुरको सांग्रिला होटलमा आयोजित एसिया सुरक्षा सम्मेलनमा पनि सुरक्षा दिएको थियो । गोर्खा टुकडीले परम्परागत नेपाली खुकुरी, बेल्जियमको राइफल र पेस्तोलसहित सुरक्षा दिएको थियो । अत्याधुनिक हतियारसहित गोर्खा सैनिकले खुकुरीलाई विशेष महत्व दिएर प्रयोग गर्ने गर्दछन् । यो उनीहरुको चिनारी पनि बनिसकेको छ । सो सम्मेलनमा अमेरिकी रक्षामन्त्री जिम म्याटिस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य देशका मन्त्री तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

इन्टरनेशनल इन्टिच्युसन फर स्ट्राटेजिक स्टडिज (आइआईएसएस) मा सिंगापुरका सशस्त्र प्रहरी विज्ञ टिम हक्सलेले यो कुराको पुष्टि गरेका छन् । उनले भने, ‘सिंगापुरले उपलब्ध गराउने सबैभन्दा सक्षम दस्ता गोर्खा टुकडी नै हो । म विश्वस्त छु, यो शिखर वार्तामा पनि उनीहरुले नै सुरक्षा दिनेछन् ।’ गोर्खा टुकडी सक्षम दस्ताका रुपमा अग्रपङ्तिमा रहँदै आएको भन्दै उनले टुकडीलाई विशेष तालिम दिएको पनि बताए । उनले गोर्खा टुकडीले जातीय विविधता भएको सिंगापुरमा अति विशिष्ट व्यक्तिको सुरक्षा तथा दंगा नियन्त्रणमा लामो समयदेखि तटस्थ फौजका रुपमा काम गरेको पनि बताए । विभिन्न संकटग्रस्थ अवस्थामा पनि गोर्खा टुकडीले सुरक्षा व्यवस्थामा उत्कृष्ठ प्रदर्शन गरेको भन्दै प्रशंसा गरे ।

आईआईएसएसका अनुसार सिंगापुरमा हाल करिब १ हजार ८ सय गोर्खा प्रहरी कार्यरत छन् । १९ औं शताब्दीको नेपाल–अङ्ग्रेज युद्धमा पराजय भोगेपछि बेलायतले गोर्खाहरुलाई भर्ती लिन थालेको थियो । ब्रिटिस सरकार भारतबाट पछिहटेपछि गोर्खा सैनिकलाई सिंगापुरमा स्थापित गरेको बताइन्छ । हाल नेपाल, भारत, बेलायत, सिंगापुर, बु्रनई लगायतका देशमा गोर्खा सैनिक कार्यरत छन् । बेलायतको विशेष सेनाको रुपमा रहेको गोर्खा सैनिक विश्वभर प्रख्यात छन् । विश्वयुद्ध तथा फकल्याण्डको युद्धमा विशेष भूमिका निर्वाह गरेर चर्चामा रहेको गोर्खा सैनिक पछिल्लो समय आफगानिस्तानमा भएको विद्रोही लक्षित आक्रमणपछि विश्वमा थप चिनिएको छ ।

गोर्खा सैनिकहरु परिवारको साथमा शहरबाहिर सुरक्षित माउन्ट भर्नोस क्याम्पमा बसोबास गर्दछन् । यो ठाउँमा अन्य नागरिकले प्रवेश पाउँदैनन् । त्यहाँको जनजीवन पूर्ण रुपमा प्रतिबन्धित रहेको बताइन्छ । सैनिकले आफ्ना बालबच्चाहरुलाई स्थानीय विद्यालयमा पढाउन पाउँछन् तर स्थानीय महिलासँग विवाह गर्न पाउँदैनन् । मध्यरातपछि यहाँ कफ्र्यु लाग्ने गर्छ, बेलुका साढे दशपछि सबैले सुतिसक्नु पर्छ, संगीत र मनोरञ्जनका अन्य साधनहरु प्रतिबन्धित छन्, पार्टी वा अन्य मनोरञ्जनका कार्यक्रमहरु समयमा मात्रै सञ्चालन गर्न पाइन्छ । यहाँ पुरुषलाई भन्दा महिलालाई भने अलि बढिनै छुट रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

Loading...