आजबाट नारायणघाट–मुग्लिङ्ग सडक पूर्ण रुपमा खुल्ला

अर्थ-बजार

चितवन, २३ जेठ, मर्मत सम्हारको कार्यले लामो समयदेखि आंशिक र पूर्ण रुपमा अवरुद्ध रहेको नारायणघाट–मुग्लिङ्ग सडक बुधबारबाट पूर्ण रुपमा खुल्ला गरिएको छ । सडकको आवश्यक सुधार र कालोपत्रे कार्य सम्पन्न भएसँगै आजबाट सडक पूर्ण रुपमा खुल्ला गरिएको नारायणगढ–मुग्लिङ्ग सडक आयोजनाले जनाएको हो ।

आयोजनाले भनेको छ, ‘मिति २०७५–०२–२२ गतेका दिन नारायणघाट–मुग्लिङ्ग सडकको सम्पूर्ण खण्ड कालोपत्रेले जोड्न सफल भएका छौँ । नारायणघाट(मुग्लिङ्ग सडक आयोजनामा आजभन्दा करिब ३ बर्ष अघि जोडिँदा आजको यो अवस्थासम्म ल्याई पुर्याउने सौभाग्य प्राप्त हुने वा नहुने कुरामा हामीलाई दोधार नै थियो । यो आयोजनालाई मात्र अलग्याएर हेर्ने हो भने निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो सम्पन्न हुँदै छ । तर २०७२ सालको बिनाशकारी भूकम्पको मुखैमा सम्झौता भएर त्यसपछिको भारतीय नाकाबन्दीले ईन्धन अभावको मार खेप्दै जुन किसिमको जटिल भौगोलिक बनावट, पहिरोको जोखिम र सवारी चापलाई व्यवस्थित गरेर काम गर्नु पर्ने अवस्थालाई हेर्दा वा यो भन्दा अघिदेखि नै सन्चालित अन्य महत्वपूर्ण महत्वकांक्षी सडक आयोजनाहरुको अवस्था तुलना गर्दा नारायणघाट–मुग्लिङ्ग सडकको प्रगतिबाट त्यति धेरै निराश भइहाल्नु पर्ने अवस्था भने पक्कै पनि छैन ।”

Loading...