चीनको नान्छोङमा विदेशी विद्यार्थीहरुको लागि परम्परागत पोशाक प्रदर्शन

कला/संस्कृति

रमेश हतुवाली, नान्छोङ, सछुवान, (चीन), ३१ वैशाख, चीनको प्राचीन नगर नान्छोङमा विदेशी विद्यार्थीहरुको लागि परम्परागत पोशाक प्रदर्शनी गरिएको छ । नान्छोङ सामाजिक विज्ञान महासंघ तथा चाइना वेष्ट नर्मल युनिभरसिटीको संयुक्त आयोजनामा सम्पन्न सो प्रदर्शनीमा २० जना सुन्दरीहरुले विभिन्न किसिमका चिनिया संस्कृति झल्कने पोशाकहरु प्रदर्शन गरेका थिए । सो प्रदर्शनीमा चीनको प्राचीन छिङ राजवंशदेखि हालसम्मका झण्डै ३० प्रकारका रंगिचंगी आकर्षक पोशाकहरु राखिएको थियो ।

नान्छोङ सामाजिक विज्ञान महासंघका प्रमुख छिन यूले सो समारोहलाई सम्बोधन गर्दै परम्परादेखि चिनिया जनताले प्रयोगमा ल्याउँदै आएका सामाजिक तथा सांस्कृतिक हिसाबले महत्वपूर्ण ‘छिफाओ’ लाई देशका विभिन्न शहरहरुमा प्रदर्शन गर्ने गरिएको जानकारी दिइन । साथै प्रमुख छिनले यस्ता पोशाकहरु प्रति चीनका नयाँ पुस्ता मात्र नभई विदेशीहरु समेत आकर्षित भएको बताइन् ।

sdr

प्रदर्शनीमा बोल्दै चाईना वेष्ट नर्मल युनिभरसिटीका प्राध्यापक ऊ स्याओ छ्वानले यस्ता प्रदर्शनीहरुको माध्यमबाट चिनिया जनजीवन र संस्कृतिको बारेमा विदेशी विद्यार्थीहरुलाई समेत जानकारी प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रदर्शनीको आयोजना गर्न पाउँदा गौरवान्वित भएको बताए ।

चिनिया भाषामा ‘छिफाओ’ नामले सम्बोधन गरिने ती पोशाकहरुमा विभिन्न चिनिया सांस्कृति झल्कने चित्रकला भरिएको थियो । यस्ता पोशाकहरु अत्यन्त मूल्यवान कपडाबाट निर्माण गरिने भएकोले चिनियाहरु यस्ता पोशाक विशेष समारोह, महत्वपूर्ण चाडपर्व र विवाहजस्ता सामाजिक तथा धार्मिक अवसरहरुमा पहिरने गर्दछन् ।

प्रदर्शनीमा चाईना वेष्ट नर्मल युनिभरसिटीमा अध्ययनरत नेपाल, लाओस, नाइजेरिया, घाना, ताञ्जानिया, इथियोपिया, गिनी लगायत विभिन्न अफ्रिकी मुलुकहरुका विदेशी विद्यार्थीहरु तथा चिनिया विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Loading...