दुई दिने भ्रमण पुरा गरी फर्किए मोदी

राजनीति

काठमाडौँ, २९ वैशाख, नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज स्वदेश फर्किएका छन् । शुक्रबार बिहान जनकपुरमा अवतरण गरेका मोदी धार्मिक, सांस्कृति भ्रमणसहित राजनीतिक भेटघाटपछि शनिबार साँझ स्वदेश फर्किएका हुन् ।

पहिलो पटक जनकपुरमा आएका मोदीलाई त्यहाँ नागरिक अभिनन्दन गरिएको थियो । उनले प्रदेश दुईको विकासको लागि एक अर्ब रुपैया सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

शुक्रबार नै राजधानी आएका मोदीलाई टुँडिखेलमा आयोजित एक भव्य समारोहकाबीच गार्ड अफ अनर्स प्रदान गरिएको थियो । साँझ राष्टङपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग मोदीले छुट्टा–छुट्टै भेटघाट गरेका थिए ।

शनिबार बिहान मुस्ताङको मुक्तिनाथ पुगेर मोदीले पूजाअर्चना गरे । दिउँसो काठमाडौँ फर्केर पशुपतिको दर्शन गरे । त्यसैगरी अपराह्न काठमाडौँ महानगरपालिकाद्वारा आयोजित एक भव्य समारोहकाबीच मोदीको नागरिक अभिनन्दन गरिएको थियो ।

मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेताहरु, राजपा र संघीय समाजवादीका नेताहरुसँग पनि भेटघाट गरेका छन् ।

मोदीले आफ्नो नेपाल भ्रमण दुईका जनताबीचको सम्बन्ध सुमधुर राख्न महत्वपूर्ण भएको बताएका छन् । यसैगरी नेपाल सरकारले पनि मोदीको भ्रमण फदायी, सफल र ऐतिहासिक भएको बताएको छ ।

Loading...