जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमालेसँग एकता हुन सक्दैन : प्रचण्ड

राजनीति

काठमाडौं, २४ वैशाख, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन नसक्ने बताएका छन् । वाइसियल नेपाल केन्द्रीय स्कुलिङ विभागको आयोजनामा भएको ‘समसामयिक परिस्थितिमा युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलार्इ अप्ठ्यारो पर्नु हो । जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन ।’ उनले उद्देश्य प्राप्तिको लक्ष्य लिएको पार्टी, वैचारिक संगठन र स्थापित नेतृत्व अविचलित रही निरन्तर अग्रणी भूमिका खेल्दै समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न प्रतिबद्धता रहेको पनि बताए । विचार र राजनीति छाडेर एकता कुनै हालतमा नहुने पनि उनले दोहोर्याए ।

प्रचण्डले यात्राको क्रममा थकान मार्ने र निरन्तर आगाडि बढ्ने भन्दै वाइसीएल नेपाल पुनर्गठन भएपछि सक्रिय भूमिका निभाएको बताए । उनले अग्रगामी सोच तथा कार्यक्रमको विकास भएको भन्दै संगठन प्रति खुशी ब्यक्त गरेका थिए । पार्टीको भूमिका संख्यात्मक रूपमा कमजोर भए पनि गुणात्मक रूपमा र सारमा माओवादीको मुद्दाको विजय भएको भन्दै युवाहरुको उत्साह प्रति सकारात्मक रहेको बताए ।

प्रचण्डले क्रान्ति अधुरो र अपुरो भएकोले प्राप्त उपलब्धिलार्इ जागाउँदै अघि बढ्नु पर्ने पनि बताए । उनले भने, ‘हामी पूर्ण विजय नभए पनि हारेका छैनौँ ।’

Loading...