अब ट्याक्सीको पनि सिण्डिकेट तोड्छौं : मन्त्री महासेठ

अर्थ-बजार

‘व्यवसायीको सम्पत्ति शुद्धिकरण गर्नु नपरोस्’
काठमाडौं, १० वैशाख, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन नि, हामीले त कार्यान्वयन गराएका हौं, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो, हामीले कार्यान्वयन गरेका छौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्तर्गत व्यवस्थित गर्छौं ।’

उनले पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनु पर्ने बताउँदै सरकार सोही अनुसार अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘विकृति र विसंगतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौं, अन्तिममा आएर बस व्यवसायीहरुले पनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहुन्छ ।’

सिण्डिकेटको अन्त्य अहिले नभएर धेरै पहिल्यै भैसकेको जनाउँदै उनले भने, ‘अहिले नेपालमा कतै सिण्डिकेट छैन, पहिला थियो । तर, यो सरकारले सिण्डिकेट खारेजी गरिदिएको छ । आजको दिनमा हामीले सिण्डिकेट प्रणाली खारेज गरिसकेका छौं । मात्रै के सवाल हो भने उहाँहरुलाई नविकरण गर्ने सवालमा कम्पनी ऐन अन्तर्गत आओस् भनेर हामीले यो असार मसान्तसम्म समय दिएका छौं । हो, कम्पनी दर्ता गर्नको लागि समय चाहिन्छ ।’

उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्तर्गत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर वैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए । महासेठले भने, ‘सरकार आफैँ बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरुले आम हड्ताल फिर्ता लिनुहुन्न भने हामी बाध्य भएर वैकल्पिक व्यवस्थाबारे सोच्छौं, हामी पर्यो भने नयाँ बस ल्याउन सक्छौं ।’

कम्पनी ऐन अन्तर्गत व्यवसायीहरु आउँदा यसले बसका असली मालिकहरुलाई फाइदा हुने उनको भनाई थियो । उनले भने, ‘कम्पनी अनुसार आउँदाखेरि कर्मचारीहरुको रोजगारीको सुनिश्चितता हुन्छ, चालक तथा सह–चालकको पनि रोजगारी यसले ग्यारेण्टी गरेको छ, सिण्डिकेटले कृत्रिम बस मालिकहरुलाई मात्रै फाइदा छ ।’

उनले कम्पनी ऐन अन्तर्गत आउने काम सम्पन्न भएसँगै आफूहरुले सवारीमा ड्राईभरको ‘ड्रेस कोड’, सिटको उचित प्रबन्ध, जेष्ठ नागरिक तथा महिलाहरुको लागि छुट्टै सिटको व्यवस्था गरिने पनि जनाए । उनले भने, ‘अहिले पनि यो काम भइरहेको छ, अझै थप व्यवस्थित र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी सरकार अघि बढ्छ ।’

सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् नि भनेर सोधेको प्रश्नमा मन्त्री महासेठले भने, ‘सिन्डिकेट हटेपछि यातायात समिति र संघले धमाधम पैसा झिक्न थालेको जानकारी प्राप्त भएको छ, पैसा झिकेर कोही पनि उम्किन पाउने छैनन् ।’

उनले अघि भने, ‘कोषमा जम्मा भएको पैसा झिकेको जानकारी आएको छ, पैसा झिकेको रेकर्ड सरकारले निकाल्छ, हामी तिनीहरुलाई छानबिनको दायरामा ल्याएर छाड्छौं, बदमासी गरेर पैसा लुकाइएको पाइएमा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउँछौं ।’

सिण्डिकेट हटाउनेबारे सरकारले एकलौटी निर्णय गरेको भनेर व्यवसायीहरु आरोप लगाएका छन् नि भनेर सोधिएको अर्को प्रश्नमा मन्त्री महासेठले आफूहरुले यातायात क्षेत्रमा पैदा भएका सबैखाले विकृति र विसंगतिहरुलाई हटाएको दाबी गरे । उनले भने, ‘विकृति र विसंगति हटाउनको लागि कसैलाई सोध्नुपर्छ र ?’ उनले सिण्डिकेटको बारेमा अब कुनै सम्झौता नहुने जिकिर गरे । ‘सरकारले गरेको निर्णय अब कुनै पनि हालतमा फिर्ता हुँदैन’ मन्त्री महासेठले भने, ‘तपाईंहरु पूर्णरुपमा ढुक्क हुनुहोस् ।’

उनले आफू व्यवसायीहरुलाई सुविधा दिन तयार रहेको बताए । उनले थपे, ‘हामी उहाँहरुलाई सुविधा दिनेबारे लचिलो छौं, तर सिण्डिकेट र कम्पनी ऐन अन्तर्गत आउने कुरामा व्यवसायीहरुप्रति मेरो कुनै सहानुभूति हुँदैन ।’

Loading...