श्रष्टा पदयात्राको १८ औं श्रृङ्खला सम्पन्न

साहित्य

काठमाडौँ, ८ वैशाख, स्रष्टा पदयात्राको १८औं श्रृङ्खला शुक्रबार सम्पन्न भएको छ । सहभागी ७ जना स्रष्टाहरुले बालाजु बाइपासबाट मुड्खु भञ्ज्याङ–तीनपिप्ले–पाँचमाने हुँदै ककनी पुगेर पुनः त्रिशुली हाइवेमा पर्ने खानीखोलासम्म झरेर पदयात्रा समापन भएको हो ।

पदयात्रामा अन्वेषक शीतल गिरी, छन्द कवि डिल्लीराज अर्याल, प्राध्यापक/साहित्यकार डा. धनप्रसाद सुवेदी, गजलकार लीलाराज दाहाल, कथाकार मन्दिरा मधुश्री, कवि शान्ति सापकोटा र पत्रकार डिल्लीरमण सुवेदी सहभागी थिए । बिहान ८ बजे बाइपासबाट पदयात्रा सुरु गरेका स्रष्टाहरु करिब ३ बजे ककनी हाइटमा पुगेका थिए ।

स्रष्टाहरुले मुड्खुको भ्यूटावर र तीनपिप्लेको विशेषता अवलोकन, सोधखोज गरे भने ककनीमा उत्पादन हुने स्ट्रबेरी, त्यसबाट निर्माण गरिने रक्सी र अन्य पदार्थहरु, उत्पादन फार्म, संकलन केन्द्र तथा बजारको अवस्था र प्रकृयाको बारेमा अध्ययन, अनुसन्धान गरेका थिए ।

यसैगरी ककनी हाइटमा रहेका फरक फरक विशेषताका पार्क, मन्दिर, गुम्बाको अवलोकन गर्दै स्रष्टाहरु फर्किएका थिए । ओरालो झरेर त्रिशुली हाइवेसम्म आइ गाडी चढेर काठमाडौँ फर्किएका थिए ।

ककनीको पार्कमा स्रष्टाहरू

बाटोमा सिजनअनुसारको फल ऐसेलुमा स्रष्टाहरु रमाएका थिए । जंगलभरी ऐसेलु फलेको देखेर नोष्टाल्जिक भएको कथाकार मन्दिरा मधुश्रीले बताइन् । आफूले गाउँ घरमा गाई, बाख्रा चराउँदा ऐसेलु टिपेर खाएको याद आएको उनले बताइन् । केही स्रष्टाहरुले भने पहिलो पटक ऐसेलुको स्वाद लिन पाएकोमा खुसी लागेको बताए ।

ऐसेलुमा रमाउँदै स्रष्टाहरू

स्रष्टा पदयात्रा हरेक महिनाको पहिलो शुक्रबार आयोजना हुने गर्दछ । ‘स्वास्थ्य, सिर्जना र पर्यटन प्रवर्द्धनकालागि पदयात्रा’ नारासहित २०७३ मंसिरबाट सुरु गरिएको पदयात्राले १८औँ श्रृङ्खला पुरा गरिसकेको छ । यो पदयात्राको गन्तब्यमा काठमाडौँ वरिपरीका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक, पर्यटकीय स्थलहरु पर्ने गरेका छन् ।

स्थानीय एक कृषि फर्ममा स्ट्रवेरी प्रशोधन गर्दै कामदारहरू

 

ककनी हाइटमा नवनिर्मित गुम्बामा स्रष्टाहरू
Loading...