[ लघुकथा ] चरित्र

साहित्य

– लीलाराज दाहाल
निकै लामो दौडधुप र केन्द्रीय नेताहरुको परिक्रमापछि वीरबहादुरको जिल्ला स्तरको नेताबाट केन्द्रमा बढुवा भयो । उसको अनुहारमा मुस्कानको लहर दौडन थालेको थियो । उ अब उमङ्गको पङ्खा हम्केर बस्न थालेको थियो ।

उसको बढुवासँगै उसको दिनचर्या पनि बदलियो । उ अब सधैं अन्तरकृया, गोष्ठी, सेमिनारहरुमा व्यस्त हुन थालेको थियो । सधैँ निराशाको आसनमा रहने ऊ अचानक खुशी देखिन थालेकाले उसकी श्रीमती पनि छक्क पर्न थालेकी थिई । तर सोध्ने आँट भने गर्न सकेकी थिइन ।

उसलाई पत्रकारहरुले पनि प्रखर वक्ताका रुपमा स्वीकार्न थालेका थिए । घरेलु हिंसा, महिला हिंसा, चेलीवेटी वेचविखन, लागूऔषधजस्ता सामाजिक बिकृतिहरुका बारेमा उ सशक्त रुपमा भाषण दिनथालेको थियो ।

एक दिन खुलामञ्चमा महिला हिंसा विषयक एक भव्य कार्यक्रमको आयोजना भएको थियो । कुनै ठूलै एन.जि.ओ.द्वारा प्रायोजित उक्त कार्यक्रममा उसलाई पनि वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उसको पालो आउनासाथ उसले मञ्चको अग्रस्थानमा उभिएर अति जोशिलो भाषण गर्यो—

”आदरणीय जनसमुदायहरु, आज हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ । आज हामीमाझ परम्परागत कुरीति, विकृति, विसंगतीले गर्दा देशको विकास हुन सकिरहेको छैन । बालविवाह, यौन दुव्र्यवहार, दाइजो प्रथाले गर्दा महिला दिदी–बहिनीहरु आक्रान्त बनेका छन् । उनीहरु आत्महत्या गर्न विवश छन् । जिउँदै जलाइएका छन् । जबसम्म महिलाहरु सशक्त हुँदैनन् जबसम्म उनीहरुको आत्म सम्मानलाई सबैले स्वीकार गर्दैनन् तबसम्म देश विकास हुँदैन । म यति भन्दै…”

उसको भाषण सकिने बित्तिकै दर्शक दीर्घाबाट आएको तालीको गडगडाहटले वातावरण नै उत्साहित भयो । मानिसहरुले नेता हुनु त वीरबहादुरजस्तो भनेर खुलेरै प्रशंसा गर्न थालेका थिए । यस्तो नेता भएमात्र देश विकास हुन्छ भनेर सबैले तारिफ गरे ।

तिनै दर्शकदीर्घाको पछाडि तीनवटी छोरी च्यापेर निन्याउरो अनुहार लगाएर श्रीमती पनि उसको भाषण र प्रशंसकका कुरा सुनिरहेकी थिइ ।

 

बागमती ११, कर्मैया, सर्लाही, हालः काठमाडौँ

Loading...