गोरखकाली रबर उद्योग पुनः संचालन गर्ने तयारी

आजका पत्रपत्रिका

काठमाडौँ, ५ वैशाख, तीन वर्षदेखि उत्पादन बन्द भएको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने तयारी भएको छ । उद्योग सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले कमिटी गठन गरेको छ । प्रदेश ४ कै ठूलो उद्योग सञ्चालनमा आएमा आर्थिक समृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा छ ।

उद्योगमा आबद्ध कर्मचारीलाई अवकाश दिन लाग्ने खर्च र उद्योग सञ्चालनका लागि विकल्पसहितको प्रतिवेदन पेस गर्न उद्योग मन्त्रालयले कमिटी गठन गरेको उद्योगका कामु महाप्रबन्धक दिनेशकुमार बर्तौलाले बताए । उनले भने, ‘उद्योगमन्त्री मातृका यादवसँग भएको छलफलमा बन्द रहेको रबर उद्योगलाई सञ्चालन गर्न पहल गर्ने आश्वासन पाएका छौँ ।’ बन्द रहेको उद्योग सञ्चालनका विषयमा छिटो धारणा आउने उनले बताए । सरकार अस्थिर भएका कारण उद्योग सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ । ०४२ बाट स्थापना भएको सो उद्योग ०७१ मा बन्द भएको थियो । सो उद्योग ६ सय ७२ रोपनीमा स्थापना गरिएको छ । (इनयाँ पत्रिका)

Loading...