पपस्टार धीरज राईलाई नागरिक अभिनन्दन

मनोरञ्जन

ललितपुर, ४ वैशाख, पपस्टार धीरज राईलाई तीस किलोको मालासहित नागरिक अभिनन्दन गरिएको छ । प्याङ गाउँ संस्कृति संरक्षण युवा समाज ललितपुरको आयोजनामा उनको अभिनन्दन गरिएको हो ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गायक राईलाई माला र नगद १ लाख सहित अभिनन्दन गरे । गायक राईलाई बाजा-गाजासहित नगर परिक्रमा गराइएको थियो । विगत १२ वर्षदेखि बुद्धको जन्मभूमि नेपाल हो भनेर विश्वमा सन्देश फैलाउन सहयोग पुर्याएको भन्दै गायक राईलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

अभिनन्दनपछि बोल्दै मेयर महर्जनले धीरज राईजस्तो युवाको यो देशमा खाँचो रहेको बताए । उनले भने, ‘उहाँको यो अभियानमा मेरो पनि पूर्ण समर्थन छ ।’

अभिनन्दित भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै गायक राईले आफू अत्यन्तै खुसी भएको बताए । उनले बुद्धको सन्देशलाई वाचन गरेर गिनिज वर्ल्ड रेकर्डमा राख्नु मात्रै नभएर संसार भरि बुद्धको जन्मभूमिबारे फैलाइएको भ्रम हटाउनु आफ्नो प्रमुख उद्देश्य भएको बताए । उनले भने, ‘संसार भरिका बुद्धसँग सम्बन्धित ७५ प्रतिशत किताबहरुमा बुद्धको जन्म भारतमा भएको भनेर लेखिएको छ । त्यो सच्याउने मेरो प्रमुख उद्देश्य हो ।’

गायक राई यही अभियान लिएर विश्वका धेरै देशमा पुगिसकेका छन् ।

Loading...