[लघुकथा] लभ गुरु

साहित्य

– डिल्लीरमण सुवेदी
‘तँ त कस्तो नामर्द, हुतिहारा, एउटी केटी पनि पट्याउन नसक्ने, पाजी ।’ रमिलाले मुखाँ आएजति गाली गरी उसलाई । ऊ रन्थनियो । गएर भुत्ल्याउनु जस्तो भयो, मुड्की–मुड्कीले हान्नु जस्तो भयो । तर त्यसो गर्न पनि सकेन ।


गम्यो ! साँच्चै म नामर्द नै हो त ? मसँग पुरुषत्व छैन त ? म एउटी केटी पनि पट्याउन सक्दिन त ? सम्झ्यो आजसम्म केटी पट्याउनुको त के, छेउ समेत परेको उसलाई दिमागमा आएन ।

उसले आफू कमजोर भएको तुरुन्तै निष्कर्ष निकाल्यो । यो कुराले उसलाई तनाव दियो । एउटी केटी जसरी पनि पट्याउने विचार गर्यो । ‘सिका न त केटी कसरी पट्टिन्छन् ?’ ‘यसका घैँटामा बल्ल घाम लाग्यो, ल सुन्…’ रमिलाले सुझाई ।

कलेजमा कुनै केटीको आमन्ने सामन्ने हुने आँटै गरेन उसले । घर जाँदा गाडीमा केटी परि सम्मुख । आज आँट गर्ने निधो गर्यो । ‘आँखामा आँखा जुधाउनु’ जुधायो । ‘तेस्रो पल्ट पनि जुधाउनु’ जुधायो । ‘मुसुक्क मुस्कुराउनु’ मुस्कुरायो । ‘ऊ पनि मुस्कुराइ भने विस्तारै छेउमा जानु’ गयो । ‘बिस्तारै उसको हातमाथि आफ्नो हात राख्नु’ राख्यो । ‘कर्के नजरले रिसाएजस्तो गरेर हेर्न सक्छन्, आफू मुसुक्क मुस्कुराउनु’ मुस्कुरायो । ‘हात बलियो गरी समात्नु र विस्तारै मुसार्नु’ मुसार्यो ।

‘गुरुजी गाडी रोक्नुस् त !’ केटी च्याठ्ठीइ । गाडी रोकियो । ‘गुरुजी गाडीभित्र हाल्नुहोस् ।’ गुरुजी ‘किन ? के भो ?’ भन्दै अन्कनाए । ‘खुरुक्क भित्र हाल्नुस् भनेको सुन्नु भएन ?’ केटी गर्जिइ ।

भित्र प्रहरी चौकीमा निवेदन दर्ता भयो, ‘धनपति पोखरेलको छोरा जीवनराम पोखरेलले सार्वजनिक यातायातमा ममाथि यौन दुर्व्यवहार गरेकोले कारबाही गरिपाउँ ।’

Loading...