वर्ष २०७४ क्रिकेटमा ऐतिहासिक सफलता !

खेलकुद

काठमाडौँ, १ वैशाख, नेपाली क्रिकेट क्षेत्रका लागि २०७४ साल विशेष रह्यो । यो वर्ष नेपाली क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त भयो । क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि हो यो वर्ष २०७४ मै सम्भव भयो ।

क्यान विवादबीच पनि नेपालले क्रिकेटमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । यो सफलतासँगै नेपालले आगामी चार वर्षसम्म थुप्रै अवसर पाउनेछ । यसै वर्ष नेपाल आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईको विजेतासमेत बन्यो ।

युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आबद्ध हुने मौका पाउनु नेपाली क्रिकेटकोलागि अर्को उपलब्धि हो । उनी दिल्ली डेयरडेभिल्ससँग रु ३२ लाखमा आबद्ध भए । अहिले उक्त प्रतियोगिता भारतमा जारी छ ।

यसै वर्ष निजी क्षेत्रको प्रयासमा टि–२० घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग पनि सम्पन्न भए । यी दुवै प्रतियोगिताले नेपाली खेलाडीलाई केही हदसम्म व्यावसायिक बनाएका छन् ।

यता नेपाल क्रिकेट संघ (क्यान) को विवाद भने कायमै रह्यो । आइसिसीबाट क्यान हालसम्म प्रतिबन्धित नै छ । यद्यपि समस्या समाधानको प्रयास भने जारी रहेको क्यानका पदाधिकारीहरु बताउँछन् ।

Loading...